Logo

२६ असार, काठमाडौं । फ्रान्सेली फुटबलका ‘गोल मेसिन’ किलियन एमबाप्पेले फिफा विश्वकपको इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

२७ वर्षको उमेरमै विश्वकपमा २० गोल पूरा गर्दै एमबाप्पे प्रतियोगिताको इतिहासमा सबैभन्दा छिटो यो आँकडा छुने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनी कप्तान लियोनल मेसीले ३० खेलमा २० गोलको कोशेढुङ्गा पार गरेका थिए भने एमबाप्पेले मात्र २० खेल खेल्दै उक्त रेकर्डलाई आफ्नो नाममा पारेका हुन् । विश्वकपको नकआउट चरणमा समेत आफ्नो प्रभुत्व जमाउँदै १२ गोल गरिसकेका उनी यस विधामा सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

मात्र तीन संस्करणको विश्वकप सहभागितामै एमबाप्पेले विश्व फुटबलमा आफ्नो दह्रो उपस्थिति जनाएका छन् । उनले यसअघि नै एक पटक विश्वकपको उपाधि र गोल्डेन बुट जितिसकेका छन् ।

जारी विश्वकपमा पनि उत्कृष्ट लयमा रहेका एमबाप्पेले फ्रान्सका लागि सर्वाधिक विश्वकप खेल खेल्ने ह्युगो लोरिसको २० खेलको कीर्तिमानसँग बराबरी गरेका छन् र अब आउने सेमिफाइनल खेलसँगै उनी सर्वाधिक खेल खेल्ने फ्रान्सेली खेलाडी बन्नेछन् । त्यस्तै, दुई फरक विश्वकप संस्करणमा ८(८ गोल गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।

जारी २३औं संस्करणको फिफा विश्वकपमा एमबाप्पे गोल्डेन बुटको बलियो दाबेदारका रूपमा अघि बढेका छन् । हालसम्म उनले ८ गोल र ३ असिस्ट गरिसकेका छन्, जुन उनलाई गोल्डेन बुटको दौडमा अन्य प्रतिस्पर्धीभन्दा अगाडि राख्ने आधार बनेको छ ।

फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान समेत आफ्नो नाममा कायम गरिसकेका एमबाप्पेले अबको दुई खेलमा आफ्नो गोल संख्या अझ बढाउँदै विश्वकपको सर्वकालीन कीर्तिमानलाई थप उचाईमा पुर्‍याउने लक्ष्य लिएका छन् । उनी अहिले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछिको विश्व फुटबलको नयाँ ‘सुपर स्टार’ का रूपमा उदाएका छन् ।


सम्बन्धित समाचार