Logo

२७ असार,काठमाडौं ।  स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो।

दोस्रो हाफको ८८औँ मिनेटमा मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुर्‍याए। सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन त्यसपछि २०१४ मा समूह चरणबाट बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम–१६ बाटै यात्रा टुंगिएको थियो।

अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

यसैबीच, विश्वकपका बाँकी दुई क्वार्टरफाइनल खेल भोलि हुनेछन्। तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्यान्ड बिहान पौने ३ बजे भिड्नेछन् भने अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड बिहान पौने ७ बजे आमनेसामने हुनेछन्।


सम्बन्धित समाचार