२९ असार, काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सुरु भएको हो ।
२०८१ वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, सेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
२०७८ चैत २४ मा उनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । २०६१ मा सरकारी सेवामा बहाल रहेदेखि २०७९ फागुन ३० सम्ममा पौडेलले आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।



















