Logo

३१ असार, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर भइरहेको अविरल वर्षाका कारण देशका प्रमुख लाइफलाइन मानिने राजमार्गहरू क्षतविक्षत भएका छन्। बाढी, पहिरो र लेदो खस्ने क्रम नरोकिँदा पाँचवटा प्रदेशका मुख्य सडक सञ्जालहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भई यातायात ठप्प भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा पहिरोको प्रभाव सबैभन्दा बढी देखिएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

पहिरोको सबैभन्दा ठुलो मार बागमती प्रदेशमा परेको छ। राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथका दुई स्थानमा ठुलो पहिरो खसेको छ । मकवानपुरको भीमफेदी र हेटौँडा–ठिङ्गन खण्डमा पहिरो जाँदा यो मार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गको भोटेकोशी–कोदारी खण्डमा पहिरो खस्दा उत्तरी नाका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ । काभ्रे खण्डमा पर्ने बीपी राजमार्गमा भने सम्भावित बाढी र नदी कटानको उच्च जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

उता कोशी प्रदेशमा पनि स्थिति नाजुक छ । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड र सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । मेची राजमार्ग अवरुद्ध भए पनि प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ । यस्तै, भोजपुर क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडकको एक भाग बगेपछि हाल एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक खण्डमा लेदोसहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । यस्तै, गुल्मीको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा साना–ठुला पहिरो खसेका कारण सडक एकतर्फी मात्र सुचारु राख्न सकिएको छ ।

गण्डकी प्रदेशको कास्कीस्थित नयाँपुल–घान्द्रुक सडक र बागलुङ खण्डमा पर्ने मध्य पहाडी लोकमार्गमा पनि पहिरोका कारण सवारी साधनहरू जोखिम मोलेर एकतर्फी रूपमा मात्र चल्न सकेका छन् । कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोट जोड्ने जाजरकोट–डोल्पा सडक खण्डमा समेत पहिरो पन्छाएर एकतर्फी रूपमा मात्र बाटो खुलाइएको छ ।

प्रहरीले बाढी र पहिरोग्रस्त क्षेत्रमा तत्कालै टोली परिचालन गरी सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार