Logo

३१असार,वीरगञ्ज । पर्साको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको ठोरी गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीयवासी समस्यामा परेका छन्।

सामान्य हावाहुरी वा वर्षाका कारण विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिकमको नेटवर्कले काम गर्न छाड्ने गरेको स्थानीयको गुनासो छ। मोबाइल नेटवर्क अवरुद्ध हुँदा दैनिक सञ्चारदेखि अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको उनीहरूले बताएका छन्।

स्थानीय चिरञ्जिवी सापकोटाका अनुसार नेपाल टेलिकमका टावरहरूमा विद्युत् आपूर्तिको विकल्पका रूपमा पर्याप्त ब्याकअप व्यवस्था नहुँदा यस्तो समस्या दोहोरिने गरेको हो।

ठोरी गाउँपालिकाअन्तर्गत ठोरी, ब्रह्मनगर, विजयबस्ती र सुवर्णपुरमा गरी चार स्थानमा नेपाल टेलिकमका टावर स्थापना गरिए पनि विद्युत् कटौती हुँदा नेटवर्क सञ्चालनका लागि आवश्यक ब्याकअप व्यवस्थापन कमजोर रहेको स्थानीय अमृत श्रेष्ठले बताए।

नेटवर्क समस्या हुँदा बैंकिङ कारोबार, अनलाइन भुक्तानी, शैक्षिक गतिविधि तथा सरकारी कामकाजसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ। वर्षातको समयमा बाढी तथा डुबानको जोखिमबारे प्रहरीलाई जानकारी गराउन र आपतकालीन अवस्थामा एम्बुलेन्स बोलाउनसमेत समस्या हुने गरेको श्रेष्ठले बताए।

स्थानीयवासीले नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयलाई पटक–पटक लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको गुनासो गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै