३१ असार, काठमाडौं । नेपालको राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ। नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने ठोस निर्णय लिएको छ ।
प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले आफ्ना सबै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने र प्रतिपक्षमा बस्ने तयारी सुरु गरेको हो । दुई दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि शक्ति बाँडफाँड र असमझदारीमा सहमति जुट्न नसकेपछि अन्ततः कांग्रेस सहकार्यबाट पछि हटेको हो ।
यस निर्णयको असर प्रदेश सरकारहरूमा तत्कालै देखिन थालिसकेको छ । एमाले नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले बुधबार नै राजीनामा दिइसकेका छन् भने कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिदिएको छ ।
अब बाँकी रहेका अन्य पाँच प्रदेशमा पनि एमाले–कांग्रेस गठबन्धन भत्किने निश्चित भएको छ। कांग्रेस स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र) वा अन्य दलहरूसँग नयाँ समझदारी जुटेमा सरकारमा रहने, नत्र सातवटै प्रदेशमा सशक्त प्रतिपक्षी बेञ्चमा बस्ने रणनीति कांग्रेसले बनाएको छ ।



















