३१असार,वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिर आसपास बिक्री–वितरण हुँदै आएका लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तर र स्वच्छता जाँच गर्न बुधबार संयुक्त बजार अनुगमन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित टोलीले मन्दिर वरपर सञ्चालनमा रहेका मिठाई पसल तथा उद्योगहरूको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा केही पसल तथा उद्योगमा किचेनको सरसफाइ सन्तोषजनक नभएको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको पाइएको टोलीले जनाएको छ।
टोलीले तीन वटा फर्मबाट करिब २५ केजी गुणस्तरहीन लड्डु जफत गरी नष्ट गरेको छ। साथै खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सम्बन्धित तीन वटा फर्मलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। व्यवसायीहरूलाई आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन समेत दिइएको छ।
जरिवाना गरिएका फर्महरूमा वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार रहेका छन्। त्यस्तै, माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा भेटिएको गुणस्तरहीन लड्डु समेत नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
गहवामाई मन्दिर क्षेत्रमा वर्षभरि धार्मिक गतिविधि र पूजाआजाका लागि भक्तजनको ठूलो भीड लाग्ने भएकाले त्यहाँ बिक्री हुने लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उपभोक्ताहरूले बताएका छन्।



















