३१ असार, काठमाडौं । नेपालमा यस वर्ष मनसुन सक्रिय भएसँगै मुख्य बाली धान रोपाइँको चटारो सुरु भए पनि रोपाईंको गति भने गत वर्षको तुलनामा केही सुस्त देखिएको छ ।
कृषि विभागका अनुसार अहिलेसम्म देशभर झण्डै ५५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ, जबकी गत वर्ष यसै अवधिमा ६० प्रतिशत रोपाइँ भइसकेको थियो । समयमा पर्याप्त पानी नपर्नु यसको मुख्य कारण मानिएको छ ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिममा उत्साहजनक ८७ प्रतिशत रोपाइँ सकिँदा सिँचाइ र वर्षाको अभावका कारण मधेश प्रदेशमा भने मात्रै ३३ प्रतिशत क्षेत्रमा धान रोपिएको छ। हालैका दिनमा देशभर वर्षा भइरहेकाले अब रोपाइँले थप तीव्रता पाउने विश्वास कृषि अधिकारीहरूको छ ।
खेतमा रोपाइँको चटारो चलिरहँदा किसानहरूले भने सधैँझैँ यसपालि पनि रासायनिक मलको अभाव झेलिरहनुपरेको गुनासो गरेका छन् । ऐन मौकामा मल नपाउँदा उत्पादन घट्ने पिरलोमा किसानहरू रहँदा सरकारले भने मलको मौज्दात पर्याप्त रहेको दाबी गरेको छ ।
कृषि मन्त्रालयका अनुसार हाल सरकारी गोदामहरूमा ९२ हजार ५०० टन रासायनिक मल मौज्दात छ । यद्यपि, किसानसम्म मल सहजै नपुग्दा हरेक वर्ष दोहोरिने यो नियतिप्रति संसद्मा समेत सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन् ।



















