Logo

३२ असार, काठमाडौं ।सप्तरीमा मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा बुधबार एउटा दुर्घटनामा परी मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय एक्ला छोरा मोहम्मद सादिकको मृत्यु भएको थियो ।

सोही मृत्युपछि बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा शव राखेर भाग्दै गरेका दुई जनालाई प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा रहेको टोलीले शंका लागेर पछ्याएको थियो ।

दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा बोदेबरसाईन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोज्दा भारतको मधुवनी खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नट पक्राउ परेका हुन् भने उनका अर्का साथी फरार हुन सफल भएका छन् ।

पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसका कामदार भएको प्रहरी स्रोतले जनाएको छ ।
यो घटना दुर्घटना हो वा हत्या हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले थप अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ ।

यसैबीच, घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीय बासिन्दाले बिहीबार बिहान पूर्वपश्चिम राजमार्गको कठौना खण्डमा करिब ३० मिनेट सडक अवरुद्ध गरी प्रदर्शन समेत गरेका छन् ।

 


सम्बन्धित समाचार