१ साउन, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्याइएको छ।
बजेटका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइनेछ। बाँकी ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने सरकारको योजना छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।



















