Logo

१ साउन,वीरगञ्ज । प्रतिष्ठित पाइप उत्पादक कम्पनी मार्वलको लोगो र ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवल मुरारका (नवकृष्ण मुरारका) पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मुरारकालाई बिहीबार धनुषाबाट पक्राउ गरी थप अनुसन्धानका लागि सिरहा ल्याइएको हो। उनीमाथि ट्रेडमार्क उल्लंघन, उपभोक्ता ठगी तथा नक्कली ब्रान्ड प्रयोगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।

यसअघि असारको पहिलो सातामा प्रहरीले सिरहाको गोलबजारस्थित नेहाल आइरन स्टोरमा छापा मारेर मार्वल कम्पनीको नाम र लोगो अंकित ९० एमएम, ११० एमएम र ११४ एमएम साइजका ६ सय ३२ थान बोरवेल पाइप बरामद गरेको थियो। सो क्रममा स्टोर सञ्चालक महम्मद साबिर खानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद पाइप धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ भगवतीपुरस्थित जानकी प्लाष्टिक उद्योगबाट आपूर्ति भएको खुलेपछि उद्योगमा पनि छापा मारिएको थियो।

अनुसन्धानका क्रममा जानकी प्लाष्टिक उद्योगले करिब तीन वर्षदेखि मार्वल कम्पनीको नाम र लोगो प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री गर्दै आएको प्रारम्भिक तथ्य फेला परेको प्रहरीले जनाएको छ। सस्तो पुनःप्रयोग (कवाड) प्लाष्टिकबाट बनेका पाइपलाई मार्वल ब्रान्डका नाममा उच्च मूल्यमा बिक्री गरिएको आरोप छ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नुअघि मुरारकाले काठमाडौंमा मार्वल कम्पनीका प्रतिनिधिसँग विवाद मिलाउने प्रयास गरेका थिए। तर सहमति हुन नसकेपछि कम्पनीको आग्रहमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

डीएसपी पालका अनुसार मुरारकासँग सोधपुछ भइरहेको छ भने घटनामा संलग्न रहेको आशंकामा करिब १० जना अनुसन्धानको दायरामा रहेका छन्।

प्रहरी अनुसन्धानका अनुसार उद्योगको आधिकारिक सञ्चालक नवल मुरारकाकी श्रीमती अनिता मुरारका भए पनि उद्योगको सञ्चालन तथा व्यवस्थापनमा नवल मुरारकाकै मुख्य भूमिका रहेको खुलेको छ।

मार्वल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेका अनुसार मधेश प्रदेशका विभिन्न बजारमा कम्पनीकै नाममा पाइप बिक्री भइरहेको सूचना पाएपछि बिक्री अभिलेखसँग तुलना गर्दा ती क्षेत्रमा कम्पनीबाट कुनै आधिकारिक आपूर्ति नभएको देखिएको थियो। त्यसपछि गरिएको बजार अनुगमनमा कम्पनीको नाम र लोगो दुरुपयोग गरी नक्कली उत्पादन बिक्री भइरहेको पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।

कम्पनीका अनुसार यसअघि सम्बन्धित व्यवसायीलाई मौखिक रूपमा सचेत गराइए पनि गतिविधि नरोकिएपछि प्रहरीमा उजुरी दर्ता गरिएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार