१ साउन,वीरगञ्ज । मधेश प्रदेशमा मनसुन सक्रिय भएसँगै धान रोपाइँले तीव्रता लिएको छ। कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार असार मसान्तसम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५७.९३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशका आठ जिल्लामा रहेको तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये दुई लाख २१ हजार ५४६ हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको छ।
जिल्लागत विवरणअनुसार सिरहामा सबैभन्दा बढी ८० प्रतिशत अर्थात् ५४ हजार हेक्टरमध्ये ४३ हजार ३०० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यता, महोत्तरीमा भने सबैभन्दा कम ३९.५९ प्रतिशत अर्थात् ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
यस्तै, सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३४ हजार हेक्टर (५० प्रतिशत), बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर (५५ प्रतिशत), धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर (५० प्रतिशत), पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ३५ हजार ५९ हेक्टर (६५ प्रतिशत) तथा रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर (५५ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये प्रत्येक वर्ष तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले मनसुन सक्रिय भएसँगै पछिल्लो दुई सातामा धान रोपाइँले उल्लेखनीय गति लिएको बताए। उनका अनुसार असार तेस्रो सातासम्म करिब १५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो भने पछिल्ला दुई सातामै ४३ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
उनले आगामी केही दिन नियमित वर्षा भए मधेश प्रदेशमा धान रोपाइँको प्रतिशत अझै बढ्ने विश्वास व्यक्त गरे।



















