Logo

१ साउन, वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले निर्देशन दिएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर र गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन सम्बन्धित पक्षलाई सात दिनको समयसीमा दिएको हो।

समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी सार्वजनिक सम्पत्तिको भोगचलन गर्दै आएको पाइएको छ। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गाको संरक्षण, व्यवस्थापन र अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले उक्त सूचना जारी गरिएको समितिले जनाएको छ।

समितिले तोकिएको समयभित्र अतिक्रमण स्वेच्छाले नहटाए प्रचलित कानुनबमोजिम हटाउने तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिएको जनाइएको छ। सोही अभियानअन्तर्गत जनकपुरधाम क्षेत्रका अतिक्रमित गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।

 


सम्बन्धित समाचार