१ साउन,काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको पुर्पक्ष अघि बढाउन आवश्यक नदेखिएको ठहर गर्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
अदालतले आदेशमा तत्काल प्राप्त प्रमाणबाट पौडेलको संलग्नता नदेखिएको, आरोपप्रति उनले इन्कारी बयान दिएको तथा दीपक भट्टसँग कुनै वित्तीय कारोबार गरेको वा कुनै सम्पत्ति तथा गैरकानुनी लाभ प्राप्त गरेको पुष्टि हुने आधार नदेखिएको उल्लेख गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धानका लागि पटक–पटक म्याद थप गर्दै उनीमाथि अनुसन्धान गरिएको थियो।
विशेष अदालतको आदेशसँगै पौडेल अब मुद्दाको सुनुवाइका लागि साधारण तारेखमा उपस्थित हुनेछन् भने उनी थुनाबाहिरै बसेर मुद्दाको सामना गर्नेछन्।



















