२ साउन,काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ।
राजविराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक चलखेल गरेको तथा कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।
आन्दोलन नियन्त्रणका लागि प्रहरीले कारागारभित्र प्रवेश गर्ने प्रयास गरेपछि तनाव बढेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयासपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।
राजविराज–१५ मुसहरनियाका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने आश्वासन दिँदै चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागारबाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलका नाममा पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्।
यता कारागारभित्र रकम असुलीको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएको र त्यसै विषयलाई लिएर ‘बी ब्लक’का कैदीबन्दीमाथि कुटपिट भएको आरोप पनि लगाइएको छ।
घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न रोक लगाइएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी कारागारभित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको स्वीकार गरे। उनले अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेकाले अवस्था सामान्य बन्दै गएको बताए।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार ‘बी ब्लक’का चौकीदार राम रिझनले कैदीबन्दीहरूसँग समान व्यवहार नगरेको आरोपपछि विवाद उत्पन्न भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।



















