२ साउन,वीरगञ्ज । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई लिजमा दिएपछि स्थानीय बासिन्दा, हनुमान मन्दिर व्यवस्थापन पक्ष र गुठी संस्थानबीच विवाद चर्किएको छ। सरकारले अतिक्रमित गुठी जग्गा फिर्ता ल्याउने अभियान सञ्चालन गरिरहेका बेला संस्थानले नै जग्गा दीर्घकालीन लिजमा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।
गुठी संस्थानले हनुमाननगरस्थित कित्ता नम्बर १ को ५ बिघा १० कठ्ठा १२ धुर जग्गा ‘विदेह ओशो ध्यान केन्द्र’लाई २० वर्षका लागि लिजमा दिएको छ। २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी वार्षिक १० लाख १५ हजार रुपैयाँ भाडा बुझाउने शर्तमा धार्मिक गतिविधिका लागि उक्त जग्गा उपलब्ध गराइएको हो।
यसअघि सो जग्गा हनुमान मन्दिरको व्यवस्थापनमा रहेको थियो। मन्दिरले स्थानीय गरिब तथा विपन्न परिवारलाई प्रतिव्यक्ति दुई कठ्ठाका दरले खेतीका लागि जग्गा उपलब्ध गराउँदै आएको थियो। उनीहरूले त्यसबापत मन्दिरलाई वार्षिक ‘कुत’ (भाडा) बुझाउने गरेका थिए। अहिले जग्गा अर्को संस्थालाई लिजमा दिइएपछि आफ्नो जीविकोपार्जनको आधार खोसिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्।
स्थानीय कलावती साहले वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गा गुम्न लागेकाले आफूहरू समस्यामा परेको बताइन्। अर्का स्थानीय प्रितम राउत कुर्मीले स्थानीयले नै अतिक्रमित अवस्थामा रहेको जग्गा संरक्षण गरी खेतीयोग्य बनाएको दाबी गर्दै त्यसैबाट परिवारको जीविकोपार्जन र मन्दिरलाई सहयोग गर्दै आएको बताए। उनले निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिए।
हनुमाननगर हनुमान मन्दिर संरक्षण समितिका महासचिव रोशनकुमार राउतले मन्दिर तथा स्थानीयलाई कुनै जानकारी नदिई गुठी संस्थानले जग्गा लिजमा दिएर अन्याय गरेको आरोप लगाए। उनका अनुसार मन्दिरको दैनिक पूजाआजा, भोगराग र मर्मत–सम्भारका लागि स्थानीयबाट प्राप्त हुने ‘कुत’ नै मुख्य आम्दानीको स्रोत थियो।
उनले सरकारले एकातिर गुठी जग्गा संरक्षण र अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने तथा अर्कोतर्फ संरक्षण भइरहेको जग्गा अर्को संस्थालाई सुम्पिने कार्य परस्पर विरोधाभासी भएको टिप्पणी गरे।
यता, विदेह ओशो ध्यान केन्द्रले भने आफूहरूले कानुनी प्रक्रिया पूरा गरेर गुठी संस्थानसँग सम्झौता गरी जग्गा लिजमा लिएको जनाएको छ। केन्द्रका सचिव स्वामी विवेक सागरले विवाद गर्ने उद्देश्य नभएको भन्दै उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको योग तथा ध्यान केन्द्र निर्माण गर्ने योजना रहेको बताए।
उनका अनुसार केन्द्र परिसरमा मिथिलाका विद्वान–विदुषीका प्रतिमा, विभिन्न देवी–देवताका मन्दिर तथा धार्मिक–पर्यटकीय संरचना निर्माण गरी क्षेत्रलाई आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
स्थानीयका अनुसार मन्दिरलाई जग्गा खाली गर्न पत्र प्राप्त भएपछि मात्रै लिज सम्झौताबारे जानकारी भएको हो। हाल उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले दुवै पक्षसँग समन्वय र छलफल अघि बढाएको जनाएको छ।



















