Logo

२ साउन,काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा आमरण अनशनमा रहेका सामाजिक अभियानकर्मी सोनाम वाङ्चुकलाई प्रहरीले आज बिहान अस्पताल लगेको छ।

विगत २० दिनदेखि अनशनरत वाङ्चुकलाई स्वास्थ्य अवस्था कमजोर भएपछि सफदरजङ्ग अस्पताल लगिएको प्रहरीले पुष्टि गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै वाङ्चुकले आमरण अनशन सुरु गरेका थिए।

वाङ्चुकको अनशन आज २१औँ दिनमा प्रवेश गरेको छ। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै जन्तर मन्तर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि दिल्ली उच्च अदालतले वाङ्चुकको स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्न सरकारलाई निर्देशन दिएको थियो।

यसैबीच कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपकेलाई पनि प्रहरीले पक्राउ गरेको छ। दीपकेले सामाजिक सञ्जाल एक्समार्फत आफूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

सीजेपीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले अभिजित दीपकेलाई उनी बसेको स्थानबाट नियन्त्रणमा लिएको बताएका छन्। पक्राउको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।


सम्बन्धित समाचार