२ साउन,मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिइएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस–एमाले सत्ता गठबन्धनमा आएको दरारपछि मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको बताएका छन्।
थपलियाका अनुसार बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको देखिएकाले एमालेले पनि सरकारमा जबर्जस्ती बसिरहन आवश्यक नरहेको निष्कर्ष निकालिएको हो। उनले मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने बताए।
उनले भने, “अहिलेको बदलिएको सत्ता राजनीतिको परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो। प्रस्तुत अवस्थामा एमाले गठबन्धनमा जबरजस्ती बसिरहन नपर्ने निष्कर्षसहित मन्त्रीहरूलाई निर्देशन दिएको हो।”
बागमती प्रदेश सरकारमा हाल एमालेका ६ जना मन्त्री छन्। मुख्यमन्त्री बानियाँको नेतृत्वमा प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ कायम गरिएको छ। साउन १ गतेदेखि उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिइएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रूपमा राखिएको छ।
बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका छन्।
त्यस्तै, किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी विना विभागीय मन्त्रीका रूपमा सरकारमा रहेका छन्।



















