Logo

२ साउन,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्ने सम्भावना छ।

वर्षाका कारण २३ भन्दा बढी जिल्ला उच्च जोखिममा रहेकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको हो। जोखिममा रहेका जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्।

प्राधिकरणले ती जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। मौसम तथा सडकको अवस्थाअनुसार जुनसुकै बेला यातायात आवागमन रोक्न सकिने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न भनिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली तथा पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणले भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोलाको तटीय क्षेत्र, पहिरो जोखिम भएका स्थान र डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले पनि विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दुई दिन वर्षाको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।


सम्बन्धित समाचार