२ साउन, वीरगञ्ज। मिटरव्याजी पीडितसँग छलफल गर्न बारा पुगेका गृहमन्त्री सुदन गुरुङको भ्रमण तालिकामा ठोरी थिएन। तर पर्साको ठोरीको बाटो भएर चितवनको माडी हुदै काठमार्डौ तर्फ फर्किने क्रममा ठोरीमा स्थानीयवासीबाट होटलमा अनैतिक गतिविधि हुने गुनासो सुनेपछि उनी एक्कासि सुरक्षाकर्मीको टोलीसहित दुई होटलमा छापा मारे।
गृहमन्त्री गुरुङको उपस्थितिमै गरिएको उक्त छापामारीबाट होटल सञ्चालक र कर्मचारी सहित नौ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये सात जना युवती र दुई जना होटल सञ्चालक रहेको स्रोतले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले बताए ।
पर्साबाट चितवन जाने क्रममा गृहमन्त्री गुरुङ ठोरी गाउँपालिका–२ स्थित ठोरी बजारमा केही स्थानीयसँग भेटघाटमा व्यस्त थिए। त्यही क्रममा स्थानीयवासीले ठोरीका केही होटलमा युवती राखेर अनैतिक गतिविधि हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीले तत्काल सुरक्षाकर्मी परिचालन गरेका थिए।
स्रोतका अनुसार, राति करिब ७.४० बजे गृहमन्त्रीको उपस्थितिमा ठोरी बजारस्थित ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’ मा छापा मारिएको थियो। छापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर १३ गण तथा बोर्डर आउट पोस्ट (बीओपी) ठोरीको संयुक्त टोली परिचालन गरिएको थियो।
घटनासँग परिचित उच्च स्रोतका अनुसार, स्थानीयले प्रत्यक्ष गुनासो गरेपछि गृहमन्त्रीकै निर्देशनमा छापामारी गरिएको हो। छापामारी सम्पन्न भएपछि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई घटनास्थलमा बोलाइएको थियो।
सामाजिक सञ्जालमा रहेको एक भिडियोमा एक स्थानीय महिलाले गृहमन्त्रीलाई होटलमा हुने गतिविधिबारे गुनासो गर्दै “पुलिस साइरन बजाएर आउँछ, तलबाट केटी भाग्छन् सर” भनेको सुनिन्छ। त्यसपछि गृहमन्त्रीले “कुन ठाउँमा हो त्यो ?” भनेर सोध्दा स्थानीयले “यहीँ हो, सँगै दुईवटा होटल छन्” भनेपछि उनी तत्काल प्रहरीसहित होटल पुगेका थिए।
पर्साको ठोरी पछिल्ला वर्षहरूमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आएको छ। वीरगञ्ज, हेटौंडा, भरतपुरलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक पुग्ने गरे पनि भारतीय सीमासँग जोडिएको यो क्षेत्र विशेषगरी बिहारबाट आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ।
स्थानीयका अनुसार, भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध रहेकाले धेरै भारतीय नागरिक मदिरा सेवनका लागि ठोरी आउने गर्छन्। यही अवस्थाको फाइदा उठाउँदै केही होटल तथा रिसोर्टमा अनैतिक गतिविधि हुने गरेको गुनासो स्थानीयले लामो समयदेखि गर्दै आएका थिए।
‘मर्यादित व्यवसाय गर्न पटक–पटक आग्रह गरेका थियौं’ : प्रहरी
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताए । उनका अनुसार प्रहरीले व्यवसायीलाई पटक–पटक कानुनको पालना गर्दै मर्यादित व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आएको तर अमर्यादित गतिविधि गरेको सुचना पाएपछि प्रहरीले छापा मारेको हो । यसअघि पनि ठोरीका होटलका सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाइएको एसपी पाठकको भनाई छ ।
“भारतीय पर्यटकलाई आकर्षित गर्ने वा खुसी पार्ने नाममा होटल तथा रिसोर्टमा कुनै पनि प्रकारका अनैतिक गतिविधि हुन दिइँदैन। यस्तो गतिविधि सभ्य समाजको हितविपरीत हुन्छ। त्यसतर्फ सबै जना सजग हुनुपर्छ,” एसपी पाठकले भने ।
स्थानीयले गृहमन्त्री सुदन गुरुङ ठोरी आएका छन् भन्ने सुचना पाएपछि टाउनमा केही मानिस भेला भएका थिए । त्यसै क्रममा एक महिलाले ठोरीका होटल, रेष्टुरेन्ट र रिर्सोटमा हुने गरेको अनैतिक गतिविधिले समाजमा नकरात्मक प्रभाव पारेको र त्यसलाई स्थानीय प्रहरीले नियन्त्रण नगरेको गुनासो गरेपछि मन्त्री आफैले सुरक्षाकर्मी लगाएर छापा मारेका थिए ।
पर्सामा देखिएका गृहमन्त्रीसँग सशस्त्री प्रहरीका एसपी मात्र साथमा थिए । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरिक्षक सुदीपराज पाठक भने उनको साथमा देखिएका थिएनन् । ठोरीका होटलमा अनैतिक कृयाकलाप हुनेगरेको गुनासो सुनेपछि गृहमन्त्रीले सिडियो र एसपीलाई ठोरीमा बोलाएका थिए ।
राती पौने ९ बजे ठोरी पुेगका एसपी र सिडियोलाई अनैतिक गतिविधिमा सुरक्षा निकायको भूमिका राम्रो नभएको जनगुनासो रहेको बिषयमा स्पष्टीकरण लिएका थिए । होटलबाट नियन्त्रणमा लिएका होटल संचालक र कर्मचारीलाई एसपीको जिम्मा लगाएर गृहमन्त्री गुरुङ माडी तर्फ प्रस्थान गरेका थिए ।
छापामारीपछि नियन्त्रणमा लिइएका सात युवती र अन्य व्यक्तिलाई पक्राउ गरिएको भए पनि उनीहरूलाई कुनै अनैतिक गतिविधिमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ गरिएको विवरण सार्वजनिक भएको छैन। त्यसैले पक्राउको कानुनी आधारबारे पनि प्रश्न उठ्न थालेको छ।
पर्साका एसपी सुदीपराज पाठकले समेत दुईवटा होटलबाट नियन्त्रणमा लिएका होटल संचालक र कर्मचारी मात्र रहको बताए । नियन्त्रणमा लिइएका कोही पनि पाहुना होइनन्, उनीहरु होटल संचालक र होटलमा काम गर्ने कर्मचारी हुन । जतीवेला गृहमन्त्रीको रोहवरमा प्रहरीले छापा मारयो त्यतीबेला ती होटलमा बाहिरका गेष्ट कोही पनि थिएनन् । होटलमा कार्यरत कर्मचारी र होटल सञ्चालक मात्र रहेको स्थानीय प्रत्यक्षदर्शीले रेसखवरलाई वताए ।
गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठ्यो ?
होटलमा गएर आफैं छापा मार्ने गृहमन्त्रीको शैलीबारे सुरक्षा जानकारहरूमा दुईवटा धार देखिएको छ। एकथरीले यसलाई मन्त्रीको तल्लो तहसम्मको सक्रियता भनी स्वागत गरेका छन् भने अर्काथरीले “हवल्दारी पारा” भन्दै प्रहरीको मनोबल गिराउने काम भनेका छन्।
स्थानीयवासीको गुनासो सुन्ने वित्तिकै गृहमन्त्री आफै होटलमा छापा मार्ने की सुरक्षा निकायलाई जनताको गुनासो यस्तो छ, त्यस तर्फ ध्यान दिन निर्देशन दिने ? अहिले मन्त्रीको कार्यशैलीका विषयमा समेत सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्पणी भएको देखिन्छ । गृहमन्त्रीको भूमिकाले सुरक्षाकर्मीको मनोवल गिराउने काम गरेको अधिकांशको टिप्पणी छ ।
पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले भने होटलमा छापामारीमा गृहमन्त्री उपस्थित नरहको दावी गरे । उनले छापामारी गर्ने काम प्रहरीको हो, मन्त्रीको होईन । एसपी पाठकले मन्त्रीको निर्देशनमा प्रहरीले नै छापामारी गरेको बताए । गृहमन्त्रीले नै छापामारी गरे भन्ने प्रचार गलत भएको एसपी पाठकको भनाई थियो ।
ठोरीबाट राति पौने ९ बजेतिर मन्त्री गुरुङ नेपाली सेनाको एस्कर्टिङमा निकुञ्जको बाटो हुँदै चितवनतर्फ प्रस्थान गरे। मन्त्रीले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनले ठोरी हुँदै लागुऔषध तस्करी हुने गरेको सूचना पाएकाले सीसीटीभी जडान गर्ने र नाका निगरानी बढाउने योजना सार्वजनिक गरेका छन्।
सुचनामा प्रहरीको आनाकानी
ठोरीमा गृहमन्त्रीको रोहवरमा भएको होटल छापामारी र ९ जनाको गिरफ्तारीका बिषयमा इलका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक मिलन विकले जानकारी दिन अस्वीकार गरे । उनले गृहमन्त्रीले विहिवार राती इलका प्रहरी कार्यालयको निरीक्षण गरेको मात्र आफूले भन्न सक्ने बताए । होटलमा भएको छापामारी र ९ जनालाई नियन्त्रणमा लिएको बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्तासँग सुचना लिन आग्रह गरे ।
इलका प्रहरी कार्यालय ठोरीका इन्चार्ज प्रहरी निरीक्षक विकले सामान्य सुचना समेत दिन नमिल्ने बताए । उनले भने मलाई सुचना दिने अधिकार छैन, यो जिल्लाका प्रवक्ताबाट लिनु होला । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक एंव प्रवक्ता राजु कार्कीले पनि यस बारेमा एसपी साहेव सँग बुझ्न भने । डिएसपी कार्कीले घटना स्थलमा स्वयं एसपी साहेव जानु भएको हो, तपाइँले यो बिषयमा एसपी साहेवसँग सुचना लिनु होला मलाई धेरै जानकारी छैन भनेर पन्छिए ।
प्रहरी प्रवक्ताले समेत सुचना दिन नमाने पछि रेसखवरले पर्साका एसपी सुदीपराज पाठकलाई घटनाका बारेमा बुझ्ने प्रयास गरेको थियो । एसपी पाठकले ठोरीका दुई होटलमा छापामारी गरी ७ महिला सहित ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए । स्थानीयबाट अमर्यादीत गतिविधि भएको सुचना आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी पाठकको भनाई थियो ।
उनले पक्राउ परेका सवै होटलका संचालक र कर्मचारी मात्र रहेको पुष्टि गरे । ठोरीमा यसअघि समेत विभिन्न होटलमा छापामारेर होटल संचालकलाई मुद्दा चलाइएको एसपी पाठकको भनाई थियो ।



















