Logo

 साउन,काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ भने नेपाली सेनाले उद्योग परिसरको सरसफाइ, मेसिन मर्मत तथा परीक्षण उत्पादनको पूर्वतयारी अघि बढाएको जनाएको छ।

उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीका अनुसार उद्योग पुनः सञ्चालनका लागि मन्त्रालय र नेपाली सेनाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरेका छन्। सोही अध्ययनका आधारमा अर्थ मन्त्रालयले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत पूर्वतयारीका लागि ३३ लाख रुपैयाँ विनियोजन गरिसकेको छ।

उनका अनुसार हाल उद्योग परिसरको सरसफाइ, उपकरणको निरीक्षण तथा पुराना मेसिनलाई सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। पहिलो चरणमा अहिले रहेका मेसिनबाटै परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) सुरु गर्ने तयारी गरिएको छ।

प्रवक्ता सुवेदीले पुराना मेसिनबाट प्रारम्भिक उत्पादन सम्भव भए पनि उत्पादन क्षमता, गुणस्तर तथा दक्षता बढाउन थप आधुनिक उपकरण आवश्यक पर्न सक्ने बताए। त्यससम्बन्धी निर्णय दोस्रो चरणको प्राविधिक अध्ययनपछि गरिने उनले जानकारी दिए।

सरकारले पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सार्वजनिक निकायका कर्मचारीका लागि आवश्यक मापदण्डअनुसारका कपडा उत्पादन गर्ने लक्ष्य राखेको छ। परीक्षण उत्पादन सफल भएपछि उद्योग विस्तार, नयाँ उपकरण खरिद तथा दीर्घकालीन सञ्चालन मोडलबारे निर्णय गरिने मन्त्रालयको भनाइ छ।

यसैबीच, उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाइसकेको छ। प्रतिवेदनमा परीक्षण उत्पादन तत्काल सुरु गर्ने तथा पूर्ण क्षमतामा उद्योग सञ्चालनका लागि आवश्यक रणनीतिक योजना समेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको छ। यसका लागि अर्थ मन्त्रालयले यसअघि नै ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।

यसैबीच, बुटवल धागो कारखाना पुनः सञ्चालनका विषयमा पनि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ। उद्योगको सम्पत्ति, दायित्व तथा सञ्चालन मोडलबारे विस्तृत अध्ययनपछि अर्थमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले आवश्यक निर्णय लिनेछ।

बर्दियास्थित कपास विकास समितिको प्रारम्भिक अध्ययनसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। कपास उत्पादन विस्तारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आवश्यक समन्वय गरिने तयारी छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा वि.सं. २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले वि.सं. २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। स्वदेशी कपडा उत्पादनको प्रमुख आधार मानिएको उद्योग राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र आर्थिक समस्याका कारण वि.सं. २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।

सरकारका अनुसार यसपटक उद्योग पुनः सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहभागितामा उद्योग परिसरको सरसफाइ, झाडी सफाइ तथा मेसिन मर्मतको काम तीव्र गतिमा भइरहेको छ। उद्योग सञ्चालनमा आएपछि पहिलो चरणमा सरकारी निकायका लागि आवश्यक बर्दी तथा विद्यालयका पोशाक उत्पादन गर्ने सरकारको योजना रहेको छ।


सम्बन्धित समाचार