Logo

७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जाने तयारीमा जुटेका छन् ।

उच्च सरकारी स्रोतबाट प्राप्त जानकारी अनुसार आगामी साउन महिनाको अन्त्यतिर (अगस्टको दोस्रो साता) सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको हो ।

पार्टी–टु–पार्टी सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ हुन लागेको यस भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसहित सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता हुने लगभग पक्कापक्की भएको छ ।

यसअघिको संसद्कालमै चीनबाट निम्तो प्राप्त भए पनि यसपटकको भ्रमणमा उच्च तहमा अझ गहिरो र अर्थपूर्ण रूपमा संवाद हुने अपेक्षा गरिएको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

पूर्ण रूपमा दलीय तहमा हुन लागेको यो पाँच दिने भ्रमणमा कुनै पनि सरकारी प्रतिनिधि भने सामेल हुने छैनन् । यसअघि भारतको नयाँ दिल्ली पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरी फर्किएका सभापति लामिछानेले अब चीनसँग पनि सोही प्रकृतिको उच्चस्तरीय कूटनीतिक संवाद र सम्बन्ध सुदृढीकरणको गृहकार्य अगाडि बढाएको रास्वपा स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार