Logo

७ साउन,जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी धनुषामा परेका उजुरीमध्ये हालसम्म १ हजार १८७ वटा गुनासो मेलमिलाप प्रक्रियाबाट समाधान भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कुल ५ हजार २५७ वटा उजुरी दर्ता भएकामा छलफल र छानबिनपछि पीडितको पक्षमा सुनुवाइ गर्दै अधिकांश मुद्दा सहमतिबाट टुंग्याइएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार सहमति हुन नसकेका ९३ वटा मुद्दा अदालतमा पञ्जीकरण गरिएको छ।

छानबिनका क्रममा पीडित पक्षलाई ३० करोड ८२ लाख ३७ हजार ९२ रुपैयाँ बराबरको रकम फिर्ता गराइएको छ भने २७ बिघा ८ कठ्ठा १८ धुर जग्गा समेत फिर्ता भएको छ।

अनुसन्धानका क्रममा थोरै रकम ऋण दिएर धेरै रकमको कपाली तमसुक बनाउने तथा दोब्बर–तेब्बरसम्म रकम उल्लेख गरी चेक धितो राख्ने प्रवृत्ति देखिएको अधिकारीहरूले बताएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनशक्ति अभावका कारण यसअघि दर्ता भएका कतिपय उजुरी अझै टुंगो लाग्न नसकेको बताए। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका बाँकी उजुरीमाथि समेत कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।


सम्बन्धित समाचार