Logo

७ साउन,वीरगञ्ज । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अन्य दलले बहुमतको आधार प्रस्तुत गरे तत्काल मार्गप्रशस्त गर्ने बताएका छन्।

सत्ता साझेदार दल नेकपा एमालेले बुधबार सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले दुई वा दुईभन्दा बढी दलले आफूहरूसँग बहुमत रहेको दाबी गर्दै आएमा लोकतान्त्रिक संस्कारअनुसार सरकार छाड्न तयार रहेको स्पष्ट पारे।

“बहुमत छ भनेर कुनै दुई वा दुईभन्दा बढी दलले दाबी गरेर आएको अवस्थामा मार्गप्रशस्त गरिदिने राजनीतिक संस्कार छ। म अडिएर, अड्किएर बस्ने मान्छे होइन,” बानियाँले भने।

मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन नभएसम्म ठूलो दलको हैसियतले प्रदेश सरकारको कामकारबाही सञ्चालन गरिरहने बताए।

अल्पमतमा परेको विषयमा उनले हालसम्म कुनै पनि दलसँग स्पष्ट बहुमत नरहेको दाबी गरे। उनले आफू ठूलो दलको नेतृत्वमा रहेको र आगामी दिनमा फेरि बहुमत जुटाउने सम्भावना बाँकी रहेको बताए।

“वाम गठबन्धन हुँदैमा मात्रै सरकार बन्छ ? गणपूरक संख्या पुगेको छ कि छैन हेर्नुपर्छ,” उनले भने।

मुख्यमन्त्री बानियाँले सत्ता जोगाउनेभन्दा पनि लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।


सम्बन्धित समाचार