Logo

नेपालमा स्मार्टफोनको प्रयोगसँगै आयात पनि तीव्र रूपमा बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा करिब ४९ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्।

गत वर्ष स्मार्टफोन आयातको परिमाणमा सामान्य वृद्धि भए पनि आयातका लागि बाहिरिएको रकम र सरकारले प्राप्त गरेको राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ। आयात मूल्य उच्च दरले बढ्नुले नेपाली बजारमा महँगा तथा प्रिमियम स्मार्टफोनको माग बढेको देखिएको छ।

भन्सार विभागका अनुसार आव २०८२/८३ मा नेपालले २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात गरेको छ। त्यसका लागि कुल ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले स्मार्टफोन आयातबाट ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

यसअघि आव २०८१/८२ मा २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएको थियो। त्यस वर्ष स्मार्टफोन आयातको कुल मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ रहेको थियो भने सरकारले ६ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

चीन र भारतको दबदबा

नेपालको स्मार्टफोन बजारमा चीन र भारतको प्रभुत्व कायमै रहेको भन्सार तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्ष आयात भएका स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ। चीनबाट मात्रै ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँ बराबरका १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। चीनबाट भएको आयातबाट सरकारले करिब ६ अर्ब ८६ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

त्यस्तै, भारतबाट १० अर्ब ९९ करोड ६ लाख रुपैयाँ बराबरका ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन आयात भएका छन्।

अमेरिका, अस्ट्रेलिया, जापान, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरियालगायत अन्य देशबाट पनि स्मार्टफोन आयात हुने गरेको भए पनि ती व्यक्तिगत प्रयोजन वा न्यून मात्रामा रहेको विभागको तथ्यांकले देखाएको छ।

व्यावसायिक रूपमा नेपाल भित्रिने कुल स्मार्टफोनमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा चीन र भारतले मात्रै ओगटेको भन्सार तथ्यांकले देखाएको छ।


सम्बन्धित समाचार