७ साउन,वीरगञ्ज । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय लगिएको छ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै पाललाई ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।
पक्राउपछि आवश्यक मुचुल्का तयार गर्ने, बरामद विवरण संकलन गर्ने तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी करिब साढे चार घण्टापछि उनलाई थप अनुसन्धानका लागि बर्दिबास लगिएको अख्तियारका एक अधिकृतले जानकारी दिए।
स्रोतका अनुसार सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिल्ला कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै घुस रकम माग गरेको आरोप छ।
अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ बराबरको दायित्व देखाइएको थियो। पालले थप कागजात पेस गर्दा दायित्व अझै बढ्न सक्ने भन्दै १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव गरेको स्रोतको दाबी छ।
कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः ५ लाख रुपैयाँमा सहमति भएको र सोही रकम लिने क्रममा पाल पक्राउ परेको बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोग स्रोतले जानकारी दिएको छ।




















