Logo

७ साउन,काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ। सभापति गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्चको फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका छन्।

सर्वोच्च अदालतले उक्त निवेदन दर्ता गरेको छ। अब निवेदनमाथि तीन न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। तीन न्यायाधीशको इजलासले पुनरवलोकनका लागि निस्सा दिएमा मुद्दा अघि बढ्नेछ भने नदिएमा सोही निर्णय अन्तिम हुने छ।

महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बुधबार सर्वोच्चमा पुनरवलोकन निवेदन दर्ता गराएको हो।

यसअघि गत वैशाख ४ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा पक्षले पुनरवलोकनको माग गरेको हो।

कांग्रेसको आन्तरिक विवादसँग जोडिएको यो मुद्दाले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको शक्ति समीकरणमा समेत प्रभाव पार्ने देखिएको छ।


सम्बन्धित समाचार