७ साउन,काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलको सामना गर्दै चार चौका प्रहार गरे। त्यस्तै, गुलशन झाले २९ रन, दीपेन्द्रसिंह ऐरीले २१ रन र डा. इशान पाण्डेले ४ रन जोडे।
कप्तान रोहित पौडेलले १२ बलमा तीन रन बनाए भने आशिफ शेखले १४ रनको योगदान दिए। अर्का ओपनर कुशल भुर्तेल २० बलमा ९ रन बनाएर आउट भए।
नेपाल जारी शृङ्खलाको पहिलो खेलमा बुधबार नामिबियासँग ८ विकेटले पराजित भएको थियो।
विश्वकप लिग–२ मा नेपालले हालसम्म २९ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ। यता नेदरल्यान्ड्सले २८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा रहेको छ।




















