८ साउन, काठमाडौं । मुलुकको राजधानी काठमाडौँमा अनुचित लेनदेन अर्थात् मिटरब्याजपीडितका उजुरीहरूको चाङ लाग्न थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरण अनुसार पछिल्लो एक आर्थिक वर्ष (२०८२/०८३) भित्र मात्रै जिल्लामा मिटरब्याज सम्बन्धी कुल २८७ वटा लिखित उजुरी दर्ता भएका छन् ।
सर्वसाधारणलाई वित्तीय संकटको फाइदा उठाउँदै अनुचित लेनदेनको पासोमा पार्ने गिरोहविरुद्ध प्रहरीले अनुसन्धान र कारबाही प्रक्रियालाई तीव्र बनाएको छ। दर्ता भएका उजुरीहरूमध्ये ४८ वटा मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक कानुनी कारबाहीका लागि अदालत समक्ष पुर्याइएको छ । त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईका अनुसार दुवै पक्षको सहमतिमा ५० वटा उजुरीहरू मेलमिलापमार्फत किनारा लगाइएका छन् ।
गृह मन्त्रालयको परिपत्र अनुसार २०८० असारदेखि नै देशभरका जिल्ला प्रहरी कार्यालयहरूले मिटरब्याज र अनुचित लेनदेन सम्बन्धी कसुरको मुद्दा सोझै अनुसन्धान गर्ने अधिकार पाएका हुन् । तर, उजुरीको सङ्ख्या अत्यधिक रहेकाले आर्थिक वर्ष २०८२/०८३ भित्र परेका उजुरीमध्ये अझै १८९ वटा निवेदन फर्छ्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाँकी रहेका उजुरीहरूमाथि पनि सूक्ष्म अनुसन्धान, प्रमाण संकलन तथा दुवै पक्षलाई झिकाएर सोधपुछ गर्ने काम भइरहेको र पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको परिसरले स्पष्ट पारेको छ ।




















