Logo

९ साउन, चितवन । माडी आँखा उपचार केन्द्रका संयोजक श्रीप्रसाद दवाडी नेपाल नेत्र ज्योति संघअन्तर्गत उत्कृष्ट शाखा संयोजकका रूपमा सम्मानित हुनुभएको छ। भरतपुर आँखा अस्पतालद्वारा आयोजित ८ जिल्लाका २४ शाखाको समीक्षा तथा वार्षिक कार्ययोजना सम्बन्धी दुईदिने गोष्ठीको समापन समारोहमा उहाँलाई सम्मान गरिएको हो।

साउन ८ र ९ गते सौराहामा सम्पन्न गोष्ठीमा नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्द प्रमुख अतिथि तथा भरतपुर आँखा अस्पतालका अध्यक्ष दयाराम श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो। कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज आचार्य र कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी लगायतले आँखा स्वास्थ्य सेवाको विस्तारमा नेपाल नेत्र ज्योति संघ र यसका शाखाहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो।

गोष्ठीमा सहभागी ८ जिल्लाका २४ शाखाले वार्षिक कार्यसम्पादनको समीक्षा गर्दै आगामी कार्ययोजना, सेवा विस्तार, व्यवस्थापन सुधार र संस्थागत विकासका विषयमा छलफल गरेका थिए।

समापन समारोहमा संस्थालाई आर्थिक सहयोग जुटाउन योगदान पुर्‍याउनुका साथै माडी आँखा उपचार केन्द्रमार्फत ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै संयोजक दवाडीलाई उत्कृष्ट शाखा संयोजकको सम्मान प्रदान गरिएको हो।

दवाडीको नेतृत्वमा सञ्चालन भइरहेको माडी आँखा उपचार केन्द्र ९बसन्तपुर० ले स्थापना भएको एक वर्षमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। केन्द्रबाट एक वर्षको अवधिमा ५ हजार ११५ जनाले आँखा उपचार सेवा लिएका छन्। तीमध्ये ४ हजार २५३ जना नयाँ बिरामी र ८६२ जना फलोअप बिरामी रहेका छन्।

सेवाग्राहीमध्ये ३ हजार २९ जना महिला र २ हजार ८६ जना पुरुष रहेका छन्। उमेर समूहअनुसार ६६६ जना बालबालिका तथा ४ हजार ४४९ जना वयस्कले सेवा लिएका छन्। यस अवधिमा ७०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको केन्द्रले जनाएको छ।

माडी क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार, मोतियाबिन्दु पहिचान, शल्यक्रियाका लागि बिरामी व्यवस्थापन तथा स्वास्थ्य शिविर सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेको योगदानको कदरस्वरूप दवाडीलाई सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि रेस खबरसँग कुरा गर्दै संयोजक श्रीप्रसाद दवाडीले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई माडी आँखा उपचार केन्द्रसँग जोडिएका सम्पूर्ण कर्मचारी, सहयोगी, शुभेच्छुक र सेवाग्राहीहरूको साझा सम्मान भएको बताउनुभयो।

उहाँले आगामी दिनमा पनि गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच अझ व्यापक बनाउने, सेवाको स्तर सुधार गर्ने र संस्थाको उद्देश्यअनुसार निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल नेत्र ज्योति संघले देशभर स्थानीय तह तथा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ।


सम्बन्धित समाचार