Logo

९ साउन, चितवन । धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सक्रिय एमआरआर ग्रुप ले भरतपुरको गणेशधाममा आयोजना गरेको साप्ताहिक भजन–कीर्तन कार्यक्रममा सयौँ भक्तजन तथा स्थानीयवासीको उल्लेख्य सहभागिता भएको छ।

भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान (गणेशधाम संरक्षण तथा सम्बर्द्धन समिति परिसर) मा शनिबार साँझ ५ बजेदेखि ६.३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा चितवनसहित तनहुँ, गैँडाकोटलगायत विभिन्न क्षेत्रबाट आएका भक्तजनले सामूहिक रूपमा भजन–कीर्तन गरेका थिए।

एमआरआर ग्रुपले हरेक शनिबार चितवनका विभिन्न धार्मिक स्थलमा भजन–कीर्तन गर्दै आएको छ। आयोजकका अनुसार नियमित अभियानअन्तर्गत गणेशधाममा सम्पन्न यो कार्यक्रम हालसम्मकै सबैभन्दा धेरै स्थानीयवासी सहभागी भएको भजन–कीर्तन बनेको हो।

ग्रुपका अनुसार धर्म, संस्कृति, रीतिरिवाज तथा आध्यात्मिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले धार्मिक स्थलहरूमा नियमित रूपमा भजन–कीर्तन आयोजना गरिँदै आएको छ।

कार्यक्रमप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिका–११ सिद्धार्थ टोल सल्लाहकार समितिका संयोजक हरि ढकालले गणेशधाममा ठूलो संख्यामा स्थानीयवासीको सहभागिताले धार्मिक गतिविधिप्रति समुदायको बढ्दो आकर्षण देखिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा आपसी एकता, सद्भाव र धार्मिक आस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिका महासचिव नवराज ढकालले एमआरआर ग्रुपको भजन–कीर्तन अभियानले धार्मिक स्थलप्रति सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै यस्ता गतिविधिले गणेशधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

त्यसैगरी, सिद्धि गणेश मन्दिर तथा चण्डेश्वरी मन्दिरका निर्माता एवं गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिका निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले एमआरआर ग्रुपको अभियानको प्रशंसा गर्दै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनुभयो। उहाँले धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी भक्तजनका लागि मौलाकालिका अस्पताल प्रा।लि।, बाइपास रोड, भरतपुर–११ ले निःशुल्क मोहीको व्यवस्था गरेको थियो। त्यसैगरी गंगोत्री होटल, नारायणगढ तथा गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिका उपाध्यक्ष विक्रम श्रेष्ठले निःशुल्क खानेपानीको व्यवस्था मिलाउनुभएको थियो।

एमआरआर ग्रुपले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको अभिवृद्धिका लागि आगामी दिनमा पनि चितवनका विभिन्न धार्मिक स्थलहरूमा नियमित रूपमा भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।


सम्बन्धित समाचार