Logo

९ साउन, चितवन । रोटरी क्लब अफ चितवनको नियमित बैठकमा कृत्रिम बुद्धिमत्ता (एआई) को वर्तमान अवस्था, उपयोगिता, चुनौती र भविष्यका सम्भावनाबारे विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

साउन ८ गते भरतपुरस्थित गार्डेन होटलमा आयोजित कार्यक्रममा डिजिटल युगमा एआईको बढ्दो भूमिका, यसको कार्यप्रणाली, विकसित भइरहेका विभिन्न एआई टुल तथा समाज र संस्थागत कार्यसम्पादनमा यसको प्रभावबारे विस्तृत प्रस्तुति र छलफल गरिएको थियो।

कार्यक्रममा एआईका अवसर र चुनौती, दैनिक जीवन, कार्यालय व्यवस्थापन, सामाजिक अभियान तथा संस्थागत कामकाजमा यसको प्रभावकारी र जिम्मेवार प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले विचार आदानप्रदान गरेका थिए।

रोटरीका सामाजिक अभियानलाई अझ प्रभावकारी बनाउने, सेवा परियोजनाको योजना तथा कार्यान्वयनमा प्रविधिको उपयोग बढाउने र संस्थागत सुदृढीकरणका लागि एआईलाई कसरी अपनाउन सकिन्छ भन्ने विषय कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो।

कार्यक्रमका प्रस्तोता रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२९२ का सूचना प्रविधि समितिका सदस्य, रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष तथा काउन्सिल अध्यक्ष भानु शर्माले एआईको विकासक्रम, यसको जिम्मेवार प्रयोग र विभिन्न क्षेत्रमा यसले सिर्जना गरिरहेका अवसरबारे जानकारी गराउनुभयो।

उहाँले प्रविधिलाई सही ढंगले प्रयोग गर्न सके संस्था र समाजका विभिन्न क्षेत्रमा कार्यक्षमता वृद्धि, सेवा प्रवाहमा सुधार तथा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन क्लबका सचिव रोशन खरेलले गर्नुभएको थियो।

भरतपुर गार्डेन होटलमा सम्पन्न कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, बोर्ड पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कृत्रिम बुद्धिमत्तालाई चुनौतीका रूपमा होइन, अवसरका रूपमा ग्रहण गर्दै समयअनुकूल सीप र प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिएका थिए।


सम्बन्धित समाचार