११ साउन, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबिच भएको दोहोरो झडप र तनाव नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा आठ जना प्रदर्शनकारी र आठ जना सुरक्षाकर्मी गरी १६ जना घाइते भएका छन् ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउने सोमबारको अवसरमा निकालिने बोलबम यात्राका लागि एउटा समूहले राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो । सोही क्रममा अर्को समूहले अबेर राति होहल्ला र उच्च आवाजमा डिजे बजाएको भन्दै विरोध जनाएपछि दुई पक्षबिच भनाभन सुरु भएको थियो ।
भनाभनबाट सुरु भएको विवादले क्षणभरमै उग्र रूप लिँदै झडपको स्थिति सिर्जना भएको थियो । स्थिति झन्झन् बिग्रँदै गएपछि कप्तानगञ्ज बजार क्षेत्रका घर, स्थानीय मेडिकल, पार्क गरिएका सवारीसाधन तथा अन्य भौतिक संरचनाहरूमा व्यापक तोडफोड र आगजनी गरिएको छ ।
उग्र बनेको भिड र दुई समूहबिचको हिंसात्मक झडप नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो । तर, स्थिति नियन्त्रणमा नआई सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि बाध्य भएर प्रहरीले गोली चलाएको जनाएको छ ।
झडपमा परी घाइते भएका आठ जना सर्वसाधारणमध्ये अधिकांशलाई गोली लागेको छ। घाइतेहरूमध्ये मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता र अमितकुमार यादवको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । त्यसै गरी रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र अर्का सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भिडलाई शान्त पार्ने क्रममा प्रदर्शनकारीको ढुङ्गामुढा र आक्रमणबाट प्रहरी टोलीमाथि पनि ठुलो क्षति पुगेको छ । झडपमा परी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी निरीक्षक राईको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते हुने अन्य सुरक्षाकर्मीहरूमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह, निवेश यादव र प्रहरी सहायक निरीक्षक नवराज पोखरेल रहेका छन् ।
घटनापछि कप्तानगञ्ज बजार क्षेत्रमा व्यापक मात्रामा सशस्त्र र जनपद प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । क्षेत्रमा थप अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।




















