११ साउन, काठमाडौँ । मुलुकको यातायात पूर्वाधार विकासमा नयाँ युगको सुरुआत गर्दै देशकै पहिलो व्यवस्थित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा आज बिहान १०:२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । औपचारिक उद्घाटन पश्चात् निर्माण पक्षले सुरुङमार्गको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
आयोजनाको कार्यतालिका अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको सुरुआत गर्नेछन् । सुरुआती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।
केही दिन सुरुङमार्गको सुरक्षा अवस्था, अक्सिजन प्रवाह र ट्राफिक व्यवस्थापनको पूर्ण परीक्षण गरेपछि मात्रै अन्य सर्वसाधारण सवारीसाधनका लागि खुला गरिनेछ। यो परीक्षण अवधिभर सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने सवारीसाधनले कुनै पनि किसिमको शुल्क बुझाउनुपर्ने छैन ।
परीक्षण काल सकिएपछि कुल २,६८८ मिटर लामो यस सुरुङमार्गमा यात्रा गर्दा सवारीसाधनको वर्ग अनुसार निश्चित शुल्क निर्धारण गरिएको छ। सडक विभागका अनुसार काठमाडौँ भित्रिँदा कार र भ्यानले रु ६५ तथा बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ ।
यस्तै मिनीबस, ट्रक र टिपरका लागि भित्रिँदा रु ११५ र बाहिरिँदा रु ८० तोकिएको छ भने ठुला बस र ट्रकले काठमाडौँ प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० भुक्तानी गर्नुपर्नेछ। सवारी चालकहरूको सहजताका लागि विद्युतीय माध्यम (Digital Payment) बाटै टोल शुल्क तिर्न सकिने प्रबन्ध मिलाइएको छ ।
सुरुङमार्गमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीका साथै डिजेल, पेट्रोल, ग्यासलगायतका प्रज्वलनशील र विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ ।
मुख्य र उद्धार (इभाकुएसन) गरी दुई वटा सुरुङ रहेको यस आयोजनामा आपत्कालीन अवस्थाका लागि दमकल, सिसिटिभी क्यामेरा, सञ्चार संयन्त्र, निरन्तर अक्सिजन प्रवाह र विशेष सुरक्षा टोली तयारी अवस्थामा राखिएको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा टुङ्गिने यो सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजमार्गमा हुने भीषण सवारी जाम, उकालो र घुमाउरो बाटोको झन्झट अन्त्य भई यात्रुको कम्तीमा एक घण्टा समय र ठुलो मात्रामा इन्धन बचत हुने अपेक्षा गरिएको छ ।
जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा जापान सरकारको रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब गरी कुल २७ अर्ब रुपैयाँ लगानी भएको छ। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी र प्राविधिक जटिलताका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।




















