१२ साउन, काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका दुर्व्यवहार, कुटपिट र एकतर्फी कारबाहीको विरोधमा नेपाल चिकित्सक सङ्घले देशभरका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेको छ ।
चिकित्सकहरूले सुरक्षित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउनुपर्ने अधिकारको गम्भीर माग उठाउँदै सङ्घले स्वास्थ्य क्षेत्रमा हुने हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन सरकार र सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ’ भन्ने मूल नाराका साथ स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा भयरहित र सुरक्षित बनाउनका लागि राज्यमाथि दबाब दिने उद्देश्यले यो विरोध कार्यक्रम आह्वान गरिएको नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य डा. राकेश शाहले जानकारी दिए ।
देशभरका मुख्य-मुख्य अस्पतालहरूमा आज ओपिडी सेवा पूर्ण रूपमा ठप्प हुँदा सेवाग्राहीहरू प्रभावित हुने देखिन्छ । यद्यपि, आकस्मिक (इमरजेन्सी) सेवा भने पूर्ववत् रूपमा सञ्चालनमा रहने जनाइएको छ ।
विशेष गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्युलाई लिएर चिकित्सकमाथि भएको साङ्घातिक आक्रमण र त्यसलगत्तै छानबिनको नाममा स्वास्थ्यकर्मीहरूलाई निलम्बन/कामबाट रोक लगाइएको घटनापछि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू थप आन्दोलित बनेका हुन् ।
कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र एकतर्फी रूपमा गरिएको निलम्बन फिर्ता हुनुपर्ने अडान उनीहरूको छ। पछिल्लो विकसित परिस्थिति, भावी आन्दोलनको रणनीति र स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा गहन छलफल गर्न नेपाल चिकित्सक सङ्घले आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा आपत्कालीन बैठक डाकेको छ। उक्त बैठकबाट थप आन्दोलनका कार्यक्रमहरू घोषणा हुनसक्ने सङ्घले जनाएको छ ।




















