Logo

१२ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणपछि समाधान खोज्न जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकहरू नै प्रशासनिक दुर्व्यवहार र थुनछेकमा परेको आरोप लागेपछि विवादले उग्र रूप लिएको छ ।

घटनाको विरोधमा वीरगञ्जका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा सोमबारदेखि सेवा अवरुद्ध बनेको छ भने नेपाल चिकित्सक सङ्घ (एनएमए) ले मङ्गलबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने आपत्कालीन घोषणा गरेको छ ।

चिकित्सक सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल र प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकमाथि विभागीय कारबाहीको माग गर्दै कडा आन्दोलनको बिउ रोपेको छ । छलफलका लागि बोलाइएका वार्ता टोलीका प्रतिनिधिमाथि नै गैरकानुनी व्यवहार, धम्की र थुनछेक गरिएको सङ्घको गम्भीर आरोप छ।

घटनाको पृष्ठभूमि:

विवादको सुरुआत गत साउन ९ गते (शनिबार) नारायणी अस्पतालबाट भएको हो वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र केही अराजक समूहले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै आकस्मिक कक्षमा तोडफोड गरेका थिए । सोही क्रममा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते डा. रामको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

अस्पताल प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै बिरामीको ज्यान जोगाउन अथक प्रयास गर्दागर्दै पनि जोगाउन नसकिएको स्पष्ट पारेको छ । घटनामा संलग्न दोषीहरूलाई सिसिटिभी फुटेजका आधारमा पहिचान गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९)’ अनुसार कडा कारबाही गर्न अस्पतालले माग गरेको छ ।

घटनाको समाधान खोज्न साउन ११ गते प्रमुख जिल्ला अधिकारीको निमन्त्रणामा सङ्घका केन्द्रीय प्रतिनिधि डा. अमित र नारायणी शाखा अध्यक्ष डा. मनोज कुमार गुप्तासहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । तर आन्दोलनरत चिकित्सकहरूसँग समन्वय नगरी मृतक पक्षलाई समेत सँगै राखेर वार्ता गराउन खोजेपछि चिकित्सकहरूले असहमति जनाएका थिए ।

सङ्घको दाबीअनुसार सीडीओ र एसपीको भूमिकामाथि प्रश्न उठाएपछि सुरक्षा निकायको सहयोगमा चिकित्सक प्रतिनिधिहरूलाई बैठक कक्षमै थुनछेक गरियो, मोबाइल फोन खोसियो र बाहिरी सम्पर्कबाट पूर्ण रूपमा अलग गराइयो । चिकित्सकहरूलाई प्रशासन कार्यालयभित्रै बन्दी बनाइएको खबर फैलिएपछि सयौँको सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै दबाब सिर्जना गरेपछि मात्रै वार्ता टोलीलाई छाडिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने चिकित्सकहरूलाई बन्धक नबनाइएको र वातावरण सहज बनाएर अस्पतालको सेवा सुचारु गराउन मात्र खोजिएको दाबी गरेका छन् ।

स्थानीय प्रशासनको तानाशाही र धम्कीपूर्ण व्यवहारका कारण सुरक्षित वातावरणमा सेवा दिन नसकिने निष्कर्ष निकाल्दै नारायणी अस्पतालका झन्डै ८० जना चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

यसैबिच सोमबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका चिकित्सकहरूले दोषीमाथि कानुनी कारबाही र सुरक्षाको पूर्ण ग्यारेन्टी माग गरेका छन् ।

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्य समितिले आज मङ्गलबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गर्दै आन्दोलनलाई देशव्यापी बनाएको छ। आज साउन १२ गते बोलाइएको सर्वपक्षीय भेलापछि थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने सङ्घले चेतावनी दिएको छ ।

प्रशासनको हठ र गैरजिम्मेवार व्यवहारका कारण स्वास्थ्य सेवा ठप्प भई बिरामीमाथि पर्न जाने सम्पूर्ण असरको जिम्मेवारी नेपाल सरकार र पर्सा जिल्ला प्रशासनले लिनुपर्ने चिकित्सक सङ्घले स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै