१२ असार, काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत आफ्नो विधानमा परिमार्जन गर्दै केन्द्रीय विभागहरूको गठन तथा सङ्ख्यासम्बन्धी साबिकको व्यवस्थामा व्यापक फेरबदल गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब पार्टीको विधानबाटै २८ वटा केन्द्रीय विभाग रहने निश्चित सङ्ख्या र नामको बाध्यता हटाइएको छ भने आवश्यकताअनुसार ‘तोकिएबमोजिम’ विभाग गठन गर्न सकिने लचिलो नीति लिइएको छ ।
संशोधित विधानको धारा ३७ (१) (क) ले विभागको आकारलाई साविकको तुलनामा सानो र चुस्त बनाउने नीति अँगालेको छ । यसअघि प्रत्येक विभागमा बढीमा ५१ जनासम्म सदस्य रहने प्रावधान रहेकोमा अब त्यसलाई घटाएर बढीमा २५ जनामा सीमित गरिएको छ ।
नयाँ व्यवस्थाले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरू मनोनीत गर्ने सम्पूर्ण अधिकार केन्द्रीय सभापतिमा निहित गरेको छ, जहाँ पदाधिकारी तथा सदस्य हुन पार्टीको क्रियाशील सदस्यता अनिवार्य गरिएको छ ।
यसैबिच, पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संरचनामा भने विस्तार गरेको छ । विधानको धारा ३६ (ग) मा गरिएको परिमार्जनअनुसार प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूको सङ्ख्या साबिकको ५१ बाट बढाएर ६१ पुर्याइएको छ ।
प्रतिष्ठानका प्रमुखले केन्द्रीय सभापतिसँगको परामर्शमा प्रदेश उपसभापतिहरू र क्रियाशील सदस्यहरूबाट यी सदस्यहरू नियुक्त गर्न पाउने कानुनी बाटो खुलेको छ ।




















