१२ साउन,चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकको खहरे खोलामा सुख्खा पहिरो खस्दा मंगलबार दिउँसोदेखि सडक दुवैतर्फ अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो करिब ३ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन्।
डिभिजनका अनुसार थप पहिरो नझरेमा सडकबाट ढुंगा–माटो हटाएर यातायात सञ्चालन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ। सडक खुलाउने काम जारी रहेको जनाइएको छ।
सडक डिभिजनले यात्रुलाई आवश्यक सावधानी अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्गको व्यवस्था गर्न आग्रह गरेको छ।
वर्षायाममा मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ, जसका कारण यात्रु र मालवाहक सवारीसाधन प्रभावित हुने गरेका छन्।




















