१२ साउन,काठमाडौं । अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एन्ड जोनसनले आफ्ना ट्याल्कमयुक्त बेबी पाउडर र अन्य उत्पादनका कारण क्यान्सर भएको आरोपमा दायर भएका झन्डै ६९ हजार मुद्दा टुंग्याउन ५ अर्ब ५ करोड अमेरिकी डलर (करिब ८ खर्ब ४५ अर्ब रुपैयाँ) क्षतिपूर्ति तिर्न प्रस्ताव गरेको छ।
बीबीसीका अनुसार कम्पनीको उक्त प्रस्ताव कार्यान्वयन हुनका लागि मुद्दा दायर गरेका ९५ प्रतिशत दाबीकर्ताले सहमति जनाउनुपर्नेछ। आवश्यक समर्थन प्राप्त भएमा लामो समयदेखि चलिरहेको कानुनी विवाद समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
ट्याल्कम एक नरम खनिज हो, जसको प्रयोग वर्षौंदेखि जोनसन एन्ड जोनसनको बेबी पाउडर तथा विभिन्न सौन्दर्य सामग्रीमा हुँदै आएको थियो। तर यसले डिम्बाशयको क्यान्सरसहित केही प्रकारका क्यान्सरको जोखिम बढाउन सक्ने चिन्तापछि यसको प्रयोग विवादमा परेको हो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२४ मा ट्याल्कमलाई ‘मानिसका लागि सम्भावित रूपमा क्यान्सर गराउने पदार्थ’ को सूचीमा समावेश गरेको थियो। यद्यपि जोनसन एन्ड जोनसनले भने आफ्ना ट्याल्कमयुक्त उत्पादनले क्यान्सर गराउने कुनै वैज्ञानिक प्रमाण नभएको दाबी गर्दै आएको छ।
विवाद बढ्दै गएपछि कम्पनीले अमेरिकामा सन् २०२० देखि र विश्वभर सन् २०२३ देखि ट्याल्कमयुक्त बेबी पाउडरको बिक्री बन्द गरिसकेको छ।
यसअघि सन् २०१६ मा अमेरिकी अदालतको एक जुरीले ओभेरियन क्यान्सरका कारण मृत्यु भएकी एक महिलाको परिवारलाई क्षतिपूर्ति दिन कम्पनीलाई आदेश दिएको थियो। यद्यपि उक्त फैसला पछि उल्टिएको थियो। त्यसपछि पनि कम्पनीविरुद्ध ट्याल्कमयुक्त उत्पादनसँग सम्बन्धित हजारौं मुद्दा अदालतमा दर्ता हुँदै आएका छन्।




















