Logo

१२ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा सुरु भएको आन्दोलनका कारण वीरगञ्जका सरकारी तथा निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहित अधिकांश उपचार सेवा ठप्प भएका छन्। आन्दोलन थप चर्किँदै जाँदा नारायणी अस्पतालका सबै ७१ जना चिकित्सकले मंगलबार सामूहिक राजीनामा दिएका छन्।

नेपाल चिकित्सक संघको आह्वानमा मंगलबारदेखि देशभर आकस्मिकबाहेकका सेवा बन्द भए पनि वीरगञ्जका चिकित्सकले भने आइतबारदेखि नै आकस्मिक सेवासमेत बन्द गर्दै आन्दोलन गरिरहेका छन्। यसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।

वीरगञ्ज–२२ मनियारीका वृद्ध वकिल राउतले पाखुरा दुखेर उपचारका लागि नारायणी अस्पताल पुगे पनि अस्पतालको प्रवेशद्वारमा चिकित्सकहरूको हड्तालको सूचना देखेपछि उपचारबिनै घर फर्किनुपरेको बताए। यस्तै, बाराको रजवटीयाका शम्भु कुम्हालले वृद्ध आमालाई उपचारका लागि ल्याए पनि चिकित्सक नपाएपछि अन्योलमा परेको गुनासो गरे।

पर्साको बलुवा गाउँकी नयनकुमारी देवी पनि ढाड र कम्मरको उपचारका लागि अस्पताल पुगेकी थिइन्। तर चिकित्सक हड्तालमा रहेको जानकारी पाएपछि उनले औषधि पसलबाट पीडानाशक औषधि किनेर घर फर्किने निर्णय गरेको बताइन्।

सुत्केरी व्यथा लागेपछि पत्नीलाई लिएर नारायणी अस्पताल पुगेका पर्साको हरपुरका गुल्टन यादवले अस्पतालमा सेवा बन्द रहेको थाहा पाएपछि भारतको रक्सौलस्थित अस्पतालतर्फ जानुपरेको बताए।

नारायणी अस्पतालले चिकित्सकको अभावका कारण पहिलेदेखि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्न थालेको छ। अस्पतालका स्वास्थ्यकर्मी अजय यादवले चिकित्सक उपस्थित नभएकाले बिरामीलाई लामो समय वार्डमा राख्न नसकिने अवस्था सिर्जना भएको बताए।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहले चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म आकस्मिक सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान रहेको जानकारी दिए। उनका अनुसार दोषीमाथि कारबाही भएपछि मात्रै सरकारसँग अन्य मागका विषयमा वार्ता हुने चिकित्सकहरूको भनाइ छ।

यस्तै, वीरगञ्जका निजी अस्पतालहरूमा पनि आकस्मिक र ओपीडी सेवा प्रभावित भएका छन्। वीरगञ्ज हेल्थ केयर अस्पतालकी प्रशासन प्रमुख भूमिका अधिकारीका अनुसार नयाँ बिरामी भर्ना बन्द गरिएको छ भने पहिलेदेखि भर्ना भएका बिरामीको उपचार मात्रै सीमित जनशक्तिबाट भइरहेको छ। उनले आन्दोलनको छिटो समाधान गरी बिरामीको उपचारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन्।

यसैबीच, नारायणी अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत सबै ७१ जना चिकित्सकले मंगलबार निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई सामूहिक राजीनामा बुझाएका छन्।

चिकित्सकहरूले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी उपरीक्षक सुदीपराज पाठकबाट दुर्व्यवहार भएको आरोप लगाउँदै सामूहिक राजीनामा दिएको बताएका छन्।

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डा. रामको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

उता, मृतक राजकुमार पटेलका आफन्त र स्थानीयले उपचारमा लापरबाही भएको आरोप लगाउँदै चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन्। मंगलबार पनि उनीहरूले वीरगञ्जको सुख्खा बन्दरगाह चोकमा धर्ना र प्रदर्शन गर्दै निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग दोहोर्‍याएका छन्।

यो पनि पढ्नुहोस :-

बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव

नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन

नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन

नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग

नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्

नारायणी अस्पताल घटनापछि चिकित्सक संघको टोली वीरगञ्जमा, दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

प्रशासनसँगको वार्ता विवादमा बदलियो, चिकित्सक आन्दोलितस पर्साका सीडीओ र एसपीमाथि कारबाहीको माग गर्दै उपचार सेवा बन्द

नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकद्वारा सामूहिक राजीनामा,देशभर आकस्मिक बाहेकका सेवा ठप्प

नारायणी अस्पताल घटनालाई लिएर वीरगञ्जमा पुनः प्रदर्शन, चिकित्सकमाथि कारबाहीको माग गर्दै चक्काजाम

स्वास्थ्य सेवा बन्द नगर्न मन्त्रालयको निर्देशन,दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी

स्वास्थ्यकर्मी आक्रमणविरुद्ध चर्कियो आन्दोलन : नारायणी अस्पतालका ६५ चिकित्सकद्वारा सामूहिक राजीनामा


सम्बन्धित समाचार