१२ साउन,काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ। यद्यपि भ्रमणको मिति र समयबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै निमन्त्रणा पठाइसकिएको बताएका हुन्।
पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्रीको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो वा होइन भन्ने प्रश्न गरिएको थियो। त्यसको जवाफमा प्रवक्ता जैसवालले उक्त विषयमा आफू जानकार नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा भने पठाइसकिएको बताए।
उनले भ्रमण कहिले हुने वा निमन्त्रणा कहिले पठाइएको हो भन्नेबारे थप विवरण भने खुलाएनन्।
भारतीय पक्षको यस भनाइसँगै नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे चासो बढेको छ। यद्यपि भ्रमणको औपचारिक मिति र कार्यक्रम दुवै देशबाट सार्वजनिक हुन बाँकी छ।




















