Logo

१२ साउन,वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, त्यसपछिको आन्दोलन तथा देशभरका स्वास्थ्य सेवा प्रभावित भएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै पर्सास्थित प्रमुख राजनीतिक दलहरूले संवाद, वार्ता र सहमतिका आधारमा समस्या समाधान गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेका छन्।

मंगलबार वीरगञ्ज महानगरपालिका–२४ स्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले नारायणी अस्पतालमा उत्पन्न विवादलाई थप जटिल बन्न नदिन वार्ता र सहमतिमार्फत निकास खोज्नुपर्ने निष्कर्ष निकाल्दै छ बुँदे संयुक्त अपिल सार्वजनिक गरेको हो।

बैठकले उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

त्यस्तै, नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न र घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ।

सर्वदलीय बैठकले साउन ९ गते नारायणी अस्पतालमा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

राजनीतिक दलहरूले आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, अस्पताल प्रशासन तथा स्थानीय प्रशासनबीच तत्काल संवाद र छलफल गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, चिकित्सक र प्रशासनबीच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट लोकतान्त्रिक मूल्य–मान्यता र पदीय मर्यादाअनुरूप व्यवहार नभएको विषयमा पनि ध्यानाकर्षण गराउँदै आगामी दिनमा संवादलाई मर्यादित, जिम्मेवार र परिणाममुखी बनाउन आग्रह गरेका छन्।

बैठकले लोकतान्त्रिक मूल्य, मान्यता र सहमतिका आधारमा नारायणी अस्पतालको विवाद समाधान गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दै आम नागरिकको स्वास्थ्य अधिकारलाई ध्यानमा राखी देशभर प्रभावित स्वास्थ्य संस्थाका सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

संयुक्त अपिलमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेकपा (माओवादी केन्द्र) पर्साका जयप्रकाश थारु, नेकपा (एमाले) पर्साका डा. विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साकी तुलसा पौडेल अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका सोमेश्वरनाथ उपाध्याय, जसपा नेपाल पर्साका रामनरेश यादव तथा जनमत पार्टी पर्साका मनोज साहले हस्ताक्षर गरेका छन्।


सम्बन्धित समाचार