Logo

१२ साउन, काठमाडौं । केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणको असर प्रदेशस्तरमा देखिन थालेपछि लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस औपचारिक रूपमा बाहिरिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँचै जना मन्त्रीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्रीसमक्ष समर्थन फिर्ताको आधिकारिक पत्र र मन्त्रीहरूको सामूहिक राजीनामा हस्तान्तरण गर्नुभएको हो । राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार छन् ।

केन्द्रीय राजनीतिमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नयाँ संयुक्त सरकार गठनको ढोका खुलेको छ ।

नयाँ सत्ता गठबन्धनअनुसार मन्त्रालयको बाँडफाँट, नयाँ मन्त्रीहरूको नियुक्ति र सरकार पुनर्गठनका विषयमा शीर्ष नेतृत्वबिच घनीभूत छलफल सुरु भइसकेको छ ।


सम्बन्धित समाचार