Logo

१२ साउन, काठमाडौं । आकर्षक रोजगारी र विभिन्न प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा कम्बोडिया पुर्‍याई ‘साइबर दास’ बनाइएका चार सय नेपाली नागरिकको एकै वर्षमा उद्धार गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/८३ को अवधिमा कम्बोडियामा जोखिमपूर्ण अवस्थामा रहेका ३८२ पुरुष र १८ महिला गरी कुल चार सय जनालाई उद्धार गरी स्वदेश फर्काइएको हो ।

नेपाल पुलिस क्लबमा आयोजित मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा ब्युरोका एसएसपी नकुल पोखरेलले यो भयावह तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष कम्बोडियाबाट उद्धार हुने नेपालीको सङ्ख्यामा भारी वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १४ जना (१२ पुरुष र २ महिला) को उद्धार गरिएकोमा त्यसअघिका वर्षहरूमा यो सङ्ख्या थोरै मात्र थियो ।

मानव तस्करहरूले वैदेशिक रोजगारीको लोभ देखाएर नेपाली युवाहरूलाई कम्बोडिया पुर्‍याउने र त्यहाँ पुगेपछि बन्धक बनाई अवैध अनलाइन तथा साइबर अपराधका गतिविधिमा संलग्न गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै गिरोहले नेपालीहरूलाई ठगी धन्दामा ‘साइबर दास’का रूपमा प्रयोग गर्ने क्रम बढेपछि प्रहरीले उद्धार पहललाई थप तीव्र बनाएको हो ।


सम्बन्धित समाचार