Logo

१९ जेठ,वीरगञ्ज । तराईमा गर्मी अत्यधिक बढेको छ । गर्मीले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित बनेको छ । पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर धनुषाको जनकपुर लगायत मधेश प्रदेशका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहलमा कमि आएको छ ।

एक सातादेखि सबैभन्दा बढी गर्मी महसुस गरिएको सर्वसाधारणले बताएका छन् ।
गर्मीका कारण मानिसहरु बिरामी समेत परिरहेका छन् । अस्पतालमा गर्मीका कारण बिरामी हुनेको संख्या बढेको छ ।

विशेष गरी भाइरल ज्वरो, झाडापखाला, पेट दुख्ने सर्वसाधरणलाई सताएको चिकित्सकले बताएका छन् । गर्मीले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्याला मजदुरीमा घर बाहिर काम गर्नेहरु विशेष पिडित छन् ।

यो साता वीरगञ्जको तापक्रम एकदमै बढि देखिएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले जानकारी दिनुभयो ।

यो हप्ता वीरगञ्जको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । बिहानदेखि साँझसम्म लाग्ने चर्को घाम र चलेको तातो हावाका कारण मानिस आत्तिएका छन् ।

विद्यालयमा गर्मी बिदा

अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेपछि बारा पर्साका स्थानीय तहले विद्यालयमा बिदा दिन सुरु गरेका छन् ।

वीरगञ्ज महानगरपालिका सहित पर्साको पर्सागढी नगरपालिका, पटेर्वासुगौली, जगरनाथपुर, सखुवाप्रसौनी, पकाहामैनपुर, छिपहरमाई, बिन्दबासीनी गाँउपालिकाले गर्मी बिदा दिन सुरु गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ १९ गते शुक्रबारदेखि २६ गतेसम्म गर्मी बिदा दिएको छ ।
पर्सागढी नगरपालिकाले २१ गते आईतबारदेखि २६ गतेसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकाले जेष्ठ १९ गतेदेखि २८ गतेसम्म बिदा दिएको छ ।

यस्तै जगरनाथपुर र सखुवाप्रसौनी गाउँपालिकाले जेष्ठ १९ गते शुक्रबारदेखि २६ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

बिन्दबासीनी गाउँपालिकाले १९ गतेदेखि २२ गतेसम्म गर्मी बिदा दिएको छ ।

यसैगरि छिपहरमाई र पकाहामैनपुर गाउँपालिकाले भने जेष्ठ २१ गते आईतबार देखि २६ गतेसम्म ६ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरि बिदा दिएको हो ।

बाराको कलैया उपमहानगरपालिकाले १९ गते शुक्रबारदेखि २४ गतेसम्म विद्यालयमा बिदा दिएको छ । भने जितपुरसिमराले पनि हिजो १८ गतेदेखि नै २० गतेसम्म गर्मी बिदा दिएको छ ।

त्यस्तै गर्मीले पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबारदेखि जेठ २६ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।

यसैगरि पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई पालिकाले आजदेखि २३ गतेसम्म पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।


सम्बन्धित समाचार