Logo

१९ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगर अन्र्तगत पर्ने एक सामुदायिक विद्यालयमा शौचालयको अभाव हुदाँ विद्यार्थी र शिक्षकलाई सास्ती भएको छ । वीरगञ्ज–३१ प्रसौनी टोलस्थित नेरा आधारभूत विद्यालयमा लामो समयदेखि शौचालयको अभावमा विद्यालयका शिक्षक र विद्यार्थी बाँसघारी र नदी छेउमा शौच गर्न बाध्य भएका छन् ।

२०११ सालमा स्थापित भएको उक्त विद्यालयमा हाल एउटा मात्र शौचालय छ । तर सो पनि व्यवस्थित नहुदाँ त्यहाँ कार्यरत शिक्षक तथा अध्ययनरत् विद्यार्थीलाई सास्ती भएको हो । विद्यालयमा अध्ययनरत छात्राहरुले मात्र बाहिर जथाभावी शौच गर्न जान कठिनाई हुने भएकाले बाध्य भएर उक्त शौचालयको प्रयोग गर्ने गरेको पाईएको छ । कक्षा ७ मा अध्ययनरत साहिल अन्सारीले शौचालय छात्राहरूले मात्रै प्रयोग गर्ने गरेकाले बाहिर बाँसघारीमा गएर दिसा–पिसाब गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभएको छ ।

उक्त विद्यालयमा मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गदीको पालामा चलाइएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत १४ लाख रुपैयाँ लागतमा एउटा शौचालय र धारा निर्माण गरिएको थियो । तर, संरक्षणको अभावमा हाल उक्त शौचालय र धारा काम नलाग्ने अवस्थामा पुगेको छ । शौचालय सफाइका लागि आफ्नै खल्तीबाट पैसा तिर्नुपर्ने भएकाले यस्तो अवस्था आएको विद्यालयका प्रधानाध्यापक हासिम अन्सारीले बताउनुभयो ।

यता वीरगञ्ज महानगरपालिकाले भने २५० जना विद्यार्थी रहेको विद्यालयमा एउटा शौचालय र सो भन्दा बढि विद्यार्थी भएको खण्डमा मात्र थप शौचालयको व्यवस्था हुने जनाएको छ । महानगरका शिक्षा शाखाका प्रमुख अरबिन्दलाल कर्णले प्रसौनीमा रहेको आधारभूत विद्यालयमा शौचालयका लागि महानगरले पहल गर्ने आश्वासन दिनुभएको छ ।


सम्बन्धित समाचार