Logo

२४ जेठ,वीरगञ्ज । वीरगञ्जमा अत्याधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । केहि दिनदेखि बढेको गर्मीका कारण अहिले विशेष गरि बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र बेहोस हुने जस्ता समस्या देखा पर्न थालेको हो ।

नारायणी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शैलेष ठाकुरले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित भएको जानकारी दिनुभयो । उहाँले अस्पतालको ‘ओपीडी’ मा दैनिक १ सय भन्दा बढिको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो ।

जसमध्ये दैनिक पाँचदेखी ७ जना बिरामी बालबालिका भर्ना नै हुने गरेका छन् । अहिले बालबालिकाहरु बिरामी पर्न थालेसंगै नारायणी अस्पतालको बालरोग कक्षमा बेडको कमि भएको डा.ठाकुरको भनाई छ ।
उहाँले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग, खाना खानुभन्दा अघि राम्रोसँग साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिनुभएको छ ।

मौसमी फ्लूबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता दुई हप्ता सम्म लाग्न सक्ने उहाँको भनाइ थियो ।
अत्याधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, बाहिरका खानेकुरा सकभर नखाने खानैपरे सफा र स्वच्छ ठाउको मात्रै खाने, पानी धेरै पिउने, घाममा ननिस्कन र धेरै हिँडडुल नगर्न पनि चिकित्सकको सुझाव छ ।

विशेषगरी नवजात शिशुदेखी १० वर्ष उमेर सम्मका बालबालिका बिरामी भएर अस्पतालमा उपचारका आउने गरेको डा. ठाकुरले जानकारी दिनुभयो ।
अत्यधिक गर्मी बढेपछि अहिले पर्साका सामुदायिक तथा सस्थांगत विद्यालयमा गर्मी बिदा दिईएको छ ।

अत्यधिक गर्मीले पठनपाठनमा कठिनाइ भएको र विद्यार्थी बेहास हुन थालेपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी महानगर अन्र्तगतका विभिन्न पालिकाका सामुदायिक तथा सस्थांगत विद्यालयमा गर्मी बिदा दिईएको हो ।मौसम विज्ञान विभागका अनुसार वीरगञ्जको तापक्रम अहिले ४० डिग्रीभन्दा माथि पुगेको छ ।


सम्बन्धित समाचार