Logo

२२ असार,वीरगञ्ज । नेपालमा डेंगुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेंगुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीका बिरामी बढ्न थालेका जानकारी दिनुभयो ।

उहाँले डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताउनुभयो । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेका उहाँले बताउनु भयो । उहाँका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गीका कारणले बिरामी परेका छन् ।

यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ । महाशाखाका अनुसार काठमाण्डौ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ जना बिरामी भेटिएका छन् । यस्तै, सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्याग्दीमा २९ जना डेङ्गीका बिरामी भेटिएका छन् ।

उहाँले बर्खायाम शुरु भएसँगै डेङ्गीबाट बच्न आग्रहसमेत गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ ।

 


सम्बन्धित समाचार
भर्खरै