Logo

२५ असार, वीरगञ्ज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स(साना परिमाणका सुनका गहना फेला परेका थिए।

सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीका अनुसार गिरोहले हरेक कामदारलाई ५० ग्राम बराबरको सुनको सिक्री नेपाल ल्याई दिएबापत ५ हजार रुपैयाँसम्म दिने गरेको थियो ।

‘गिरोहले एउटै फ्लाइटमा १५र२० जना नेपाली कामदारलाई त्यसरी सुन बोकाएर पठाउने गरेको पाइएको छ’, केसीले भने । आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको छ । उनीहरुले जनही ५८ ग्राम बराबरको सिक्री लुकाएर नेपाल भित्र्याएका थिए । त्यसरी भित्र्याइएको सिक्री त्रिभुवन विमानस्थलबाहिर रहेको होटल हिमालयन स्पायरका सन्चालक दम्पतीलाई दिने गरेको पाइएको छ ।

प्रहरी अनुसन्धानमा कतारमा रहेको गिरोहले भरिया बनेर नेपाल आउन लागेका कामदारको तस्बिर हिमालयन स्पायरका सञ्चालक दम्पती सप्तरीको बलानबिहुल गाउँपालिका २ का २८ वर्षीय विनोद कुमार शाह र उनकी श्रीमती सन्जु कुमारी शाह तेलीको मोबाइलमा पठाउने गरेको खुलेको छ । सोही आधारमा उक्त दम्पतीले सुन ल्याउने कामदारको पहिचान गर्ने गरेका थिए ।

प्रहरीका अनुसार विनोदको बैंक खातामा मात्र ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । यस्तै, सन्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४ सय ९७ रुपैयाँ कारोबार भएको पाइएको छ । ‘यो सन् २०१९ यताको बैंक विवरण हो। तर उनिहरुले सन् २०१२ देखि नै यस्तो कारोबार गर्दै आएको भन्ने छ’, एसएसपी केसीले भने ।

प्रहरीका अनुसार शाह दम्पतीले काठमाडौंमा बिक्री भएको सुनको पैसा शिवसुन्दर राउतको खातामा पठाउने गरेको र बाँकी सुन राउतले भनेका व्यक्तिलाई पठाउने गरेका थिए । प्रहरीले सिराहाको लाहान(४ का राउतलाई पनि पक्राउ गरेको छ ।

राउतले रितेस जनरल स्टोर्स नामक कम्पनी सन्चालन गर्दै आएका छन् । उक्त कम्पनीको खातामा एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ५७ रुपैयाँ र राउतको व्यक्तिगत खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।


सम्बन्धित समाचार