Logo

७ साउन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए। योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ। सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुनः अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन।

 

 


सम्बन्धित समाचार